काठमाण्डौं, वैसाख ७ । पछिल्लो समय लगातार व्याजदर घटाइरहेका वाणिज्य बैङ्कहरूले वैसाख महिनाका लागि पनि व्याजदर घटाएका छन् । सञ्चालनमा रहेका अधिकांश वाणिज्य बैङ्कले २०८१ साल वैशाख महिनाका लागि मुद्दती निक्षेपको व्याजदर घटाएका हुन् । औसतमा व्यक्तिगततर्फ मुद्दती निक्षेपको व्याजदर वैशाख महिनाका लागि ७.०६ प्रतिशत भएको छ । चैतमा औसत ब्याजदर ७.२५ प्रतिशत रहेको थियो । औसतमा हेर्दा बैङ्कहरूको व्याजदर ०.१८ बिन्दुले घटेको छ ।

पाँच बैङ्कले चैतकै व्याजदरलाई वैसाखमा पनि निरन्तरता दिएका छन् भने दुई बैङ्कले व्याजदर बढाएका छन् । व्याजदर बढाउनेमा एभरेस्ट र एनएमबि बैङ्क रहेका छन् । मुद्दती निक्षेपमा सबैभन्दा धेरै व्याजदर दिनेमा एनएमबि बैङ्क रहेको छ भने सबैभन्दा कम व्याजदर कृषि विकास बैङ्कको रहेको छ । मुद्दती निक्षेपमा सबैभन्दा धेरै व्याज  दिने एनएमबि बैङ्कले व्याजदर प्रकाशित गर्दै वैसाख महिनाका लागि ७.९७ प्रतिशत ब्याज तोकेको छ । सो बैङ्कले चैत महिनामा सात प्रतिशत व्याज  तोकेको थियो । वैसाखका  लागि भने बैङ्कले ०.९७ प्रतिशतले व्याज बढाएको हो ।