काठमाडौं । पर्वतको फलेवास नगरपालिकाका असंगठित क्षेत्रका विपन्न मजदुरको ५ सय रुपैया  योगदान तथा नगरपालिकाद्धारा ५ सय रुपैया थप गरी मासिक १ हजार रुपैयाको दरले प्रति महिना रकम जम्मा गर्ने गरी नागरिक लगानी कोष र फलेवास नगरपालिका वीच सम्झौता भएको छ ।

सम्झौतामा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र नगरपालिकाका तर्फबाट नगर प्रमुख पदमपाणी शर्माले हस्ताक्षर गरेका छन । उक्त योजनामा सहभागी करीव ७ सय असंगठित क्षेत्रका विपन्न मजदुरहरुले ६० वर्ष पुगे पश्चात मासिक रुपमा पेन्सन प्राप्त गर्ने वा सावाँ, व्याज तथा प्रतिफल सहित एकमुष्ठ रकम लिन सक्ने गरी सहभागिता गराईएको छ । यस पेन्सन योजनाको बैकिङ्ग पार्टनरको रुपमा एन.आइ.सि.एसिया बैंक रहेको छ ।

नगरपालिकाको यस कार्यक्रमलाई एन. आइ. सि. एसियाको कुश्मा शाखाबाट सेवा प्रदान गर्ने व्यवस्था समेत गरिएको छ । पहिलो चरणमा सहभागी भएका प्रत्येक सहभागीलाई सामाजिक उत्तरदायित्व  अन्र्तगत कोषको तर्फबाट १/१ सय रुपैयाँ सहभागीको खातामा थप गर्ने कोषका कार्यकारी निर्देशक नेपालले बताए । सो अवसरमा नगरपालिका प्रमुख, उप–प्रमुख लगायत अन्य दलका प्रतिनिधिले नगरपालिकाको  कदम, कोषको सहयोग र सहकार्यको प्रसंशा गरेका थिए ।