काठमाण्डौं, चैत ७ । आज देशभरको मौसम बदली भएको छ ।  काठमाण्डौँ उपत्यकासहित वाग्मती, मधेश र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मौसम विज्ञान विभाग जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण मौसम बदली भएको हो । यो प्रभाव पूर्वी नेपालमा बढी र पश्चिममा कम रहेको छ ।  आज  दिनभरनै देशको पूर्वी भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । काठमाण्डौँमा भोली  पनि छिटपुट वर्षा हुने सम्भावना  रहेको छ ।

मधेश प्रदेशका जिल्लामा भने धेरै  समयपछि वर्षा भएकोले किसानहरु निकै उत्साहित  भएका छन् । लामो खडेरीका कारण बालीनाली सुक्दै गएका बेला भएको यो वर्षाले बालीनाली  समेत सप्रिने छ ।