काठमाण्डौं, चैत्र २ । आगामी  चैत ४ गते  पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिने भएको छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले संयुक्त रूपमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न लागेका हुन् । यसअघि २९ कात्तिक ०७८ मा बसेको गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि संघ सरकारलाई अनुरोध  गर्दै पत्राचार गरेको थियो । त्यसपछि पोखरा महानगरपालिकाले समेत निर्णय गर्दै संघ सरकारलाई पत्राचार गरेको थियो ।

प्रदेश सरकार र पोखरा महानगरको औपचारिक पत्राचारपछि पनि संघ सरकारले कुनै निर्णय नगरेपछि आइतबार पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गर्न लागिएको हो । राजधानी घोषणाका लागि गण्डकी सरकारको २३ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले निर्णयसमेत गरेको थियो ।

संघ सरकारले औपचारिक निर्णय नगरे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न लागिएको हो ।