काठमाण्डौं,असोज ७ । १९ औँ एसियाली खेलकुदको उद्घाटन चीनको हाङ्जाउमा भव्य उद्घाटन भएको छ । हाङ्जाउ ओलिम्पिक रंगशालामा एक भव्य समारोहबीच चीनका राष्ट्पति सि जिन पिङ्ले प्रतियोगिताको उद्घाटन गरेका छन् ।

 उद्घाटनमा मार्च पासमा नेपालको झण्डा उसु खेलाडी निमा घर्ती मगर र तेक्वान्दो खेलाडी बिर बहादुर महराले बोकेका थिए । दुवै खेलाडीले सन् २०१९ मा नेपालमा भएको १३औँ साग खेदकुद प्रतियागितामा स्वर्ण पदक जितेका थिए ।

समारोहमा नेपालका तर्फबाट  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, साथै परराष्ट्रमन्त्री एनपी साउद, युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ लगायतको सहभागिता रहेको थियो ।

प्रतियोगितामा नेपालबाट बिभिन्न २९ खेलमा  २  सय ५३ खेलाडी सहभागी भएका  छन् । जसमा महिला १२७ र पुरुष १२६ रहेका छन् ।