काठमाण्डौं। वाणिज्य बैङ्कहरूले आगामी चैतमा व्याजदर मा सामान्य परिवर्तन गर्दै घटाउने भएका छन् । वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृतहरूको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घको बैठकले आगामी चैतमा कर्जा र निक्षेपको        व्याजदर  घटाउने निर्णय गरेको हो ।

आगामी चैत १ गतेदेखि निक्षेपमा ० दशमलव ४ प्रतिशत र कर्जामा १ प्रतिशत प्रिमियम दर घटाउने निर्णय भएको सङ्घका अध्यक्ष सुनिल केसीले जानकारी दिनुभयो । उहाँले आफूहरू ऋणको व्याजदर क्रमशः घटाउनमा केन्द्रित भएको बताउनुभयो ।

हाल बैङ्कहरूले आधारदरमा ६ प्रतिशतसम्म प्रिमियम लिने गरेका थिए । अब १ प्रतिशत घटेपछि आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम दर तोक्नेछन् ।

यस्तै, निक्षेपतर्फको साधारण बचतमा न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ८  प्रतिशतसम्म व्याज दिनेछन् । यसअघि साधारण बचतमा न्यूनतम ६ दशमलव ४२ प्रतिशतदेखि अधिकतम ८ दशमलव ४२ प्रतिशतसम्म व्याजदर तोकिएको थियो ।

मुद्दती निक्षेपको व्याजदर भने स्थिर राखिएको छ । हाल बैङ्कहरूले मुद्दती निक्षेपमा ११ प्रतिशत व्याज दिइरहेका छन् । यस्तैगरी, संस्थागततर्फ नौ प्रतिशत र रेमिट्यान्स मुद्दती खातामा १२ प्रतिशत व्याजदर तोकिएको छ ।