काठमाण्डौं । आफ्नो कप्तानीमा अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका कप्तान लियोनल मेस्सी कतारमा सम्पन्न २२औं फिफा विश्वकपको सर्वोत्कृष्ट खेलाडी भएका छन् ।

८८ हजार दर्शक क्षमताको लुसेल आइकोनिक स्टेडियममा भएको रोमाञ्चक र सनसनीपूर्ण फाइनल भिडन्तमा मेस्सी प्रेरित अर्जेन्टिनाले टाइब्रेकरमा साविक विजेता फ्रान्सलाई ४ गोलले हराउँदै उपाधि जितेको हो ।

सर्वोत्कृष्ट खेलाडीसँगै मेस्सीले व्यक्तिगत  गोल्डेन बल पुरस्कार पाएका छन् । निर्धारित समयमा २-२ र अतिरिक्त समयमा ३-३ गोलको बराबरीमा सकिएको खेलमा टाइब्रेकरमा पुगेर अर्जेन्टिनाले बाजी मारेको थियो । फाइनल खेलमा मेस्सीले दुई गोल गरे । उनले टाइब्रेरममा पनि पहिलो गोल गर्दै टोलीको मनोबल उच्च राखेका थिए ।

पाँचौं पटक विश्वकप खेलेका मेस्सीले विश्वकपमा सर्वाधिक २६ खेल खेल्ने खेलाडीको कीर्तिमानसमेत रचेका छन्  । उनले यसअघि जर्मनीका पूर्व मिडफिल्डर लोथर माथ्युसको नाममा रहेको २५ खेलको कीर्तिमान तोडेका छन् ।

अर्जेन्टिनाका लागि मेस्सीले विश्वकपमा कीर्तिमानी १३औं गोल पूरा गरेका छन् । मेस्सीले सेमिफाइनलमा क्रोएसियाविरुद्धको खेलमा गोल गर्दै यसअघि गाब्रियल बाटिस्टुटाको नाममा रहेको १० गोलको कीर्तिमान तोडेका थिए । छैटौं पटक विश्वकपको फाइनलमा पुगेको अर्जेन्टिनालाई तेस्रो उपाधि दिलाउने क्रममा उत्कृष्ट प्रदर्शन गरेका मेस्सीको यो पहिलो विश्वकप उपाधि हो । यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ को विश्वकप उपाधि जितेको थियो ।