कास्की । गण्डकी प्रदेशमा चार दशकको अन्तरालपछि आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुदमा सुरक्षा प्रबन्धलाई विशेष महत्त्वका साथ व्यवस्थापन गरिएको छ । खेलकुद प्रतियोगितालाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने गरी सुरक्षा कार्ययोजना बनाइएको छ ।

खेलाडी, दर्शक र पाहुनाले सुरक्षाको पूर्ण अनुभूति गर्ने गरी सुरक्षालाई ध्यान दिइएको छ । शुक्रबारदेखि कात्तिक ३ गतेसम्म मुख्य गरी पोखरा केन्द्रित भएर  आठ जिल्लामा हुने प्रतियोगितामा आठ हजार हाराहारी खेलाडी, प्रशिक्षक र अफिसियल गरी दश हजार हाराहारीमा सहभागिता हुने भएपछि सुरक्षालाई चुस्त बनाउन यथेष्ट मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सुरक्षार्थ खटिने प्रहरी कर्मचारीलाई त्रुटिरहित ढङ्गले खेलको सुरक्षार्थ खटिन र सम्भावित दुर्घटना तथा सुरक्षा चुनौतीलाई दृष्टिगत गरी समयमै खबर गराउन निर्देशन गरिएको प्रहरीले जनाएको छ । प्रतियोगितामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानसहित नेपाली सेनाले समेत सुरक्षा दिनेछन् । खेलस्थल र रङ्गशालामा जनपथ र सशस्त्र प्रहरी सँगसँगै परिचालित हुनेछ भने सेनाले अतिविशिष्ट व्यक्तिको सवारीमा सुरक्षा प्रबन्ध गर्नेछ । प्रहरी प्रमुख जोशीका अनुसार प्रतियोगिताको उद्घाटनदेखि समापन समारोहसम्मका सात दिन प्रतियोगिता हुने आठ जिल्लामा दैनिक एक हजार एक सय जनपद प्रहरी र दुई सय सशस्त्र गरी एक हजार तीन सय प्रहरी परिचालन हुनेछन् ।

यसबाहेक आवश्यकता अनुसार थप प्रहरी परिचालन गर्ने गरी सुरक्षा प्रबन्ध मिलाइएको छ । यसैगरी जिल्ला प्रहरी कार्यालयमा २५ जनाको टोली ‘स्टाण्ट बाई’ तैथानीमा रहने र थप मद्दत परेको खण्डमा तुरुन्त परिचालित हुने व्यवस्था गरिएको छ ।

राष्ट्रिय खेलकुदका लागि आम नागरिकको समर्थन रहेकाले कुनै ‘सुरक्षा थ्रेट’ भने नरहेको आकलन प्रहरीको छ । नवौं राष्ट्रिय खेलकुदको सुरक्षाका लागि गठित उपसमितिमा प्रहरी प्रमुख जोशीसहित सशस्त्र प्रहरीका एसएसपी, जिल्ला प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रहरी उपरीक्षक, नेपाली सेनाका कर्णेल, महानगरका सुरक्षा महाशाखा प्रमुख, खेलकुदका पदाधिकारी  छन् ।