काठमाण्डौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त र सहज बनाउने उद्देश्यका साथ ट्राफिक स्वयंसेवक परिचालन गरेको छ । स्वयंसेवक परिचालनबाट काठमाडौंको ट्राफिक व्यवस्थापनमा जनमानसले राहत महसुस गर्ने र आमसडक प्रयोगकर्तालाई सहजता मिल्ने महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताउनु भयो ।

महाशाखा र उपत्यकास्थित सामुदायिक सेवा केन्द्रको सहकार्यमा तीन सय ट्राफिक स्वयंसेवकलाई प्रशिक्षण गरी काठमाडौंका विभिन्न चोक, आकाशेपुल र जेब्राक्रसिङमा परिचालन गरिएको महाशाखाले जनाएको छ । महाशाखाले स्वयंसेवकलाई उपत्यकाका विभिन्न सवारी चाप हुने स्थानमा परिचालन गर्ने जनाएको छ ।

यसअघि महाशाखाले नेपाल स्काउट, युवा विद्यार्थीलाई समेत प्रशिक्षण दिई विभिन्न चरणमा ट्राफिक स्वयंसेवक परिचालन गरेको थियो । त्यसको प्रभावकारितासँगै यसलाई निरन्तरता दिइएको हो ।