काठमाण्डौं, वैसाख २४ । नेपालीको औसत आयु विगत ४० वर्षको अवधिमा २० वर्षले बढेको छ। राष्ट्रिय तथ्यांक कार्यालयले  सार्वजनिक गरेको ‘राष्ट्रिय जनगणना- २०७८ ‘जनसांख्यिक सूचक र जनसंख्या साक्षरता’ प्रतिवेदनमा नेपालीको औसत आयु विगत ४० वर्षमा २० वर्षले बढेको उल्लेख छ।

महिलाको औसत आयु पुरुषको भन्दा ५ वर्ष बढी रहेको तथ्यांकले देखाएको छ। प्रदेशगत आधारमा कर्णालीका महिलाहरूको औसत आयु बढी छ। सार्वजनिक जनसांख्यिक तथ्यांक अनुसार कर्णालीका महिलाको औसत आयु अन्य प्रदेशका महिलाको तुलनामा बढी छ। यसबाट कर्णालीका महिला बढी बाँच्ने गरेको नयाँ तथ्य बाहिर आएको छ। सूचकअनुसार कर्णालीका महिलाको औसत आयु ७५.५ वर्ष पुगेको छ।

जनसांख्यिक सूचकले नेपालीहरूको औसत आयु ७१.३ वर्ष पुगेको देखाएको छ। २०३८ सालमा गरिएको जनगणनाअनुसार नेपालीको औसत आयु ४९.८ वर्ष थियो। २०७८ सालको जनगणनाले पुरुषको औसत आयु ६८.२ वर्ष र महिलाको औसत आयु ७३.८ वर्ष पुगेको देखाएको छ। यसबाट समग्रमा पुरुषभन्दा महिलाको औसत आयु ५ वर्ष बढी रहेको देखाउँछ।