काठमाण्डौं । फिलिपिन्ससँग नेपाल पराजित भएको छ । पहिलो हाफमा एक गोलको अग्रता लिए पनि नेपाल एएफसी वुमेन्स एसियाकप छनोटमा शनिबार फिलिपिन्ससँग २–१ ले पराजित भएको छ । नेपालले पहिलो हाफमा विमला चौधरीको गोलले अग्रता लिएको थियो ।

विमलाले १० औं मिनेटमा गोल गरेकी थिइन् । यो नेपालका लागि उनको पहिलो गोल हो । खेलको अन्त्यतिर फिलिपिन्सले २ गोल गरेको हो । फिलिपिन्सले ९० औं मिनेटमा बराबरी गोल गरेपछि इन्ज्युरी समयमा विजयी गोल थपेको थियो ।

अहिलेसम्म नेपाल र फिलिपिन्सबीच २ खेल भएकोमा दुवैमा नेपाल  पराजित भएको छ । यसअघि सन् १९९९ मा नेपालले एएफसी वुमेन्स च्याम्पियन्सिपमा फिलिपिन्सको सामना गरेको थियो र त्यसमा नेपाल ५–० ले पराजित रहेको थियो ।