काठमाण्डौं, असार २५  । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा नन ग्रेडेड समूहमा परेका विद्यार्थीलाई काठमाण्डौं महानगरले निःशुल्क खाना र खाजासहित तयारी कक्षा सञ्चालन गरेको छ ।

महानगरपालिकाले आफू मातहतका सामुदायिक विद्यालयका शिक्षकलाई परिचालन गरेर उक्त कक्षा सञ्चालन गरेको हो । परीक्षा तयारीमा बसेका विद्यार्थीलाई महानगरपालिकाले खाना र खाजाका लागि पैसा समेत दिने तयारी गरेको छ । महानगरपालिका शिक्षा विभागका अनुसार महानगरपालिकाको कार्यपालिकामा उक्त प्रस्ताव पुगेको भए पनि निर्णय भने भइसकेको छैन । मङ्गलबार वा बुधबार यस विषयमा निर्णय हुने महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले १ सय शिक्षकको रोस्टर बनाएर कक्षा सञ्चालन शुरु गरेको हो । ११ वटा स्रोत केन्द्रमा दैनिक करिब ७० वटा कक्षा चल्ने महानगरपालिकाले जनाएको छ । ग्रेडवृद्धि परीक्षा तयारी कक्षामा ८७३ विद्यार्थी सहभागी हुनेछन् ।