काठमाण्डौं, असार १९ । डेरी उद्योगीले दुध किसानको बक्यौताको सम्पूर्ण रकम भदौ मसान्तसम्म भुक्तानी गरिसक्ने सहमति गरेको छ । बक्यौता रकमको भुक्तानी गर्न माग गर्दै किसानले आन्दोलन गरेपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा भएको छलफलमा सो सहमति भएको हो ।

सहमति अनुसार २०८० चैत मसान्तसम्म भुक्तानी हुन बाँकी रकम असार २७ गतेसम्म गरिसक्ने र वैशाख र जेठको बक्यौता रकमको भुक्तानी २०८१ भदौ मसान्तसम्म गर्ने सहमति भएको किसानको प्रतिनिधि गर्ने संस्था केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेडले जानकारी दिएको छ  । सो सहमतिसँगै सङ्घले घोषणा गरेका आन्दोलनका सम्पूर्ण कार्यक्रम हाललाई स्थगित गरेको छ ।

मन्त्रालयमा भएको १० बुँदे सहमति अनुसार प्रत्येक दुग्ध उद्योगले किसानलाई दुध खरिद गरेबापत हरेक महिनामा २ किस्तामा भुक्तानी गर्ने, जस अनुसार महिनाको पहिलो १५ दिनको भुक्तानी सोही महिनाको २५ गतेभित्र र महिनाको पछिल्लो १५ दिनको अर्को महिनाको १० गतेभित्र गरिसक्नुपर्नछ ।

दुध तथा दुग्ध पदार्थको उत्पादनमा उल्लेखनीय वृद्धि भएकाले आन्तरिक मागको तुलनामा आपूर्ति बढी भएकाले दुध तथा दुग्ध पदार्थको निर्यात गर्ने विकल्पलाई सहजीकरण गर्न निजी, सहकारी तथा सरकारी डेरी उद्योगलाई निर्यात प्रवर्धनका लागि सहुलियत प्रदान गर्न मन्त्रालयले पहल गर्ने सम्झौता गरेको छ ।

त्यसैगरी किसान र दुग्ध उद्योगले बैङ्कको ऋणमा लाग्ने व्याजमा सहुलियत दिनका लागि मन्त्रालयले सहजीकरण गर्ने र दुग्ध उद्योगलाई कर्जा सहुलियतका लागि प्रदेश सरकारलाई अनुरोध गर्ने सहमति भएको छ ।