काठमाण्डौं, जेठ २९ । सीजी फुड्स नेपाल लिमिटेडले अण्डर–१९ महिला टिम तथा समग्र नेपाली क्रिकेट विकासका लागि नेपाल क्रिकेट संघ (क्यान) लाई रू. ६० लाख सहयोगको घोषणा गरेको छ ।

विगत २० वर्षदेखि नेपाली क्रिकेटको सहयात्री रुपमा रहँदै आएको नेपालको सर्वाधिक लोकप्रिय ब्राण्ड वाइ वाइ चाउचाउले नेपाल दोस्रो पटक आइ.सि.सि. पुरुष टि-२० विश्वकपमा सहभागी हुन सफल भएको ऐतिहासिक क्षणलाई अविष्मरणीय बनाउने उद्देश्य तथा नेपाली क्रिकेट टिमलाई प्रोत्साहन र समर्थन स्वरुप ‘वाइ वाइ क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमा ल्याएको छ ।

सीजी फुड्स नेपाल लिमिटेडले क्यानसँगको सहकार्यमा क्रिकेट स्पेसल एडिसन प्याकेटको अवधारणा कार्यान्वयनमा ल्याएको हो । टि–२० विश्वकपमा नेपाली राष्ट्रिय टिमका साथ रमाईरहेका नेपाली दर्शकहरूका लागि वाइ वाइको यो प्याकेट विशेष हुने तथा वाइ वाइको यस विशेष प्याकेटले नेपाली क्रिकेट टिमलाई थप प्रोत्साहन तथा समस्त नेपाली क्रिकेटप्रेमिहरूमा थप उत्साह ल्याउन  विश्वास कम्पनीले लिएको छ ।  

 खुसीको यस अवसरमा विगत लामो समयदेखि पुरुष अण्डर–१९ क्रिकेट टिमलाई प्रायोजन गर्दै आएको वाइ वाइले महिला अण्डर–१९ क्रिकेट टिमलाई समेत प्रायोजन वापत रू. ३० लाख तथा अन्य क्रिकेट गतिबिधि संचालनका लागि रू.३० लाख गरि जम्मा रू. ६० लाख नेपाल क्रिकेट संघलाई सहयोग गर्ने चौधरी गु्रपका प्रबन्ध निर्देशक श्री निर्वाण चौधरीले घोषणा गरेका छन् ।

चौधरी गु्रपका प्रबन्ध निर्देशक निर्वाण चौधरी, क्यानका सचिव  पारस खड्का र सीजी फुड्सका सिइओ श्री प्रदिप पुडासैनीले यस सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।  राष्ट्रिय टिम दोस्रोपटक आइ.सि.सि.टि-२० विश्वकपमा सहभागी हुन सफल भएकोमा सीजी फुड्स नेपाल लि.ले नेपाली राष्ट्रिय टिमलाई हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले नेपालमा वाइ वाइ र क्रिकेटको विकास सँगसँगै भएको उल्लेख गर्दै क्रिकेटको विकासका लागि वाइ वाइ सधै समर्पित रहने बताएका छन् । ‘आजभन्दा २० बर्षअघि हामीले पुरूष अण्डर–१९ मा लगानी गर्यौं जसको परिणाम अहिले नेपाली राष्ट्रिय टिम टि–२० विश्वकपको मैदानमा खेलिरहेको छ । अब महिला अण्डर–१९ मा लगानी गर्ने समय भएको छ । यसको नतिजा देशले छिट्टै पाउँनेछ, चौधरीले उल्लेख गरे ।

प्रवन्ध निर्देशक चौधरीले नेपालमा उत्पादित वाइ वाइ अमेरिका, यूरोप, जापान, अष्ट्रेलिया लगायत विश्वका ४० देशमा उपलब्ध रहेको भन्दै वाइ वाइले ति सबै देशको गुणस्तर मापदण्ड पूरा गरेका कारण ग्लोबल ब्राण्ड बन्न सफल भएकाले यस सम्वन्धमा थप ब्याख्या गर्न आवश्यक नभएको स्पष्ट पारेका छन् ।

क्यानका सचिव एवं नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान पारश खड्काले आफु वाइ वाइको जर्सी लगाएर यू–१९ विश्वकपमा खेलेको स्मरण गर्दै नेपालको क्रिकेटको विकासका लागि वाइ वाइको योगदान अतुलनीय रहेको बताएका छन् । नेपाली राष्ट्रिय टिम टि–२० विश्वकपमा खेलिरहेको यस गौरवपूर्ण अवसरमा वाइ वाइले महिला यू–१९ र नेपालको क्रिकेट विकासका लागि गरेको यो लगानी निकै महत्वपूर्ण रहेको भन्दै यसका लागि चौधरी ग्रुपलाई धन्यवाद दिएका छन् । 

यसअघि वाइ वाइले विश्वकपमा सहभागी राष्ट्रिय टिमलाई प्रोत्साहन स्वरुप सुपर(८मा पुग्न सफल भएमा रू. ३० लाख तथा समग्र नेपाली टिमको मनोबल उच्च बनाउने उद्देश्यले प्रत्येक रन वापत रू. १ हजार, प्रत्येक चौका वापत रू. ८ हजार, प्रत्येक छक्का वापत रू. १२ हजार, प्रत्येक विकेट वापत रू. १५ हजार, प्रत्येक अर्धशतक वापत रू. ५० हजार, प्रत्येक शतक वापत रू. १ लाख र नेपाली टिमको प्रत्येक जितमा रू. १ लाख ५० हजार रूपैयाँ नगद उपलब्ध गराउने घोषणा गरि सकेको छ ।