काठमाण्डौं, जेठ २७ । राष्ट्रिय परिचयपत्रलाई राज्यद्वारा प्रदान गरिने सम्पूर्ण सेवा प्रणालीसँग जोडी यसलाई थप बलियो बनाउन लागिएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ देखि राज्यद्वारा प्रदान गरिने सामाजिक सुरक्षा भत्ता , सामाजिक सुरक्षा भत्ताको कार्ड नवीकरण , बैङ्क खाता , स्वास्थ्य बिमा , स्थायी लेखा नम्बर , जग्गा जमिनको खरिद बिक्रीलगायत विभिन्न कामका लागि अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्रको प्रतिलिपि वा परिचयपत्र सङ्ख्या (नम्बर) पेस गर्नुपर्ने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ । अहिले भने राहदानी बनाउन मात्र राष्ट्रिय परिचयपत्र अनिवार्य थियो। साथै नागरिकता पेश गर्नुपर्ने ठाउँमा राष्ट्रिय परिचयपत्र पेश गर्दा हुने भएको छ ।

 एउटै व्यक्तिले बिभिन्न व्यहोरा बनाई विभिन्न बैङ्कमा खाता खोलेको र सो को ट्र्याक गर्न   नेपाल राष्ट्र बैङ्कलाई समेत गाह्रो परिरहेको हुँदा अब देखि बैंक खाता खोल्न समेत  राष्ट्रिय परिचयपत्रको प्रयोग अनिवार्य गर्न लागिएको छ ।

त्यसैगरी आन्तरिक राजस्व विभाग, निवृत्तिभरण व्यवस्थापन कार्यालय, यातायाता व्यवस्था विभाग, कम्पनी रजिस्ट्रारको कार्यालय, स्वास्थ्य बिमा बोर्डको प्रणालीसँग राष्ट्रिय परिचयपत्रको आबद्धताका लागि परीक्षण कार्य भइरहेको विभागले जनाएको छ।