काठमाण्डौं,  जेठ २३  । नागरिकका गुनासा लाई तत्काल सम्बोधन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शासकीय सुधार एकाई गठन भएको छ । मन्त्रालयका प्रशासन महाशाखा सहसचिव सुमन घिमिरेको नेतृत्वमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका शासकीय सुधार हेर्ने उपमहानिर्देशक, आर्थिक प्रशासन शाखा, योजना तथा बजेट शाखा र कानुन तथा फैसला कार्यान्वयन शाखाका प्रमुख, पाठ्यक्रम विकास केन्द्रका उपसचिव, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले तोकेका उपनिर्देशक र आन्तरिक व्यवस्थापन शाखाका प्रमुख  सदस्य रहने गरी सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ मा भएको व्यवस्था अनुसार उक्त एकाई गठन भएको मन्त्रालयले जनाएको छ ।  

 यो एकाई मार्फत मन्त्रालयसँग सम्बन्धित कामका विषयमा गुनासो प्राप्त भएको १५ दिनभित्र सम्बोधन गर्ने र वेवसाइटमार्फत विवरण सार्वजनिक गरिने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले बताएकी छिन्। मन्त्रालयबाट सम्पादन हुने कामसम्बन्धी कानुन, नीति र कार्यविधि निर्माण एवं सुधारका लागि सूचना, सल्लाह र पृष्ठपोषण उपलब्ध गराउने काम पनि यही एकाईले गर्ने मन्त्रालयले जनाएको छ ।