काठमाण्डौं, जेठ २२ गते । स्थानीय वायु प्रणालीको प्रभावका कारण काठमाण्डौं उपत्यकामा वर्षा भएको छ । हाल देशमा स्थानीय र  पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको  उत्तरप्रदेशदेखि पश्चिम बङ्गालसम्म फैलिएको न्यूनचापीय क्षेत्रको पनि आंशिक प्रभाव छ ।

काठमाण्डौंको दक्षिण पश्चिम बुटवल आसपासबाट विकास भएको स्थानीय वायु प्रणाली धादिङ हुँदै काठमाण्डौं उपत्यकामा प्रवेश गरेको र सोही वायु प्रणालीका कारण  वर्षा गराएको जल तथा मौसमविज्ञान विभागले जनाएको छ ।

यस वर्षको मनसुन यही जेठ ३१ गतेदेखि नेपाल प्रवेश गर्ने विभागको पूर्वानुमान छ । यद्यपि मनसुन भित्रिने सरदर मिति केही दिन तलमाथि हुने विभागले जनाएको छ ।