काठमाण्डौं, भदौं २७ । होटल संघ नेपालले मेला, सभा र सम्मेलन र विवाह गन्तव्य  (Meeting, Incentive, Conference & Exhibition (MICE) Tourism & Destination Wedding) को बढ्दो माग परिपूर्तिका लागि कार्ययोजना तयार गर्न भदौ ३१ गते आईतवार काठमाण्डौंमा सरोकारवालाहरुको वैठक आयोजना गर्ने भएको छ ।

 होटल संघ नेपालको वार्षिक कार्ययोजना भित्र परेको यस कार्यक्रमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाल माइस पर्यटनको लागि उपयुक्त गन्तव्यको रुपमा स्थापना गर्न सघाउ पुर्याउने छ । प्रकृतिले प्रचुर साथ दिएको नेपालमा पर्यटन बढाउन ‘माइस’ पर्यटनको विकास गर्न अपरिहार्य रहेको छ । नेपालले विश्वको व्यापारिक समुदायमा अन्तर्राष्ट्रिय सभा सम्मेलन गन्तव्यको रूपमा लोकप्रियता हासिल गरेको परिप्रेक्ष्यमा यस कार्यक्रमबाट सरोकारवालाहरुले उपयुक्त कार्यनीति तयार गर्नेछन् ।

 अन्तर्राष्ट्रिय स्तरको मेला, सभा र सम्मेलनसँगै व्यापार व्यवसायको प्रवद्र्धनका लागि विदेश भ्रमणमा पठाउने प्रचलन विश्वव्यापी रुपमा अझ छिमेकका भारत र चीनमा बढ्दै गएको छ । भारत लगायतका देशहरुबाट वर्षेनी हजारौंको संख्यामा विवाह गर्ने जोडीहरु र उनीहरुको परिवारका सदस्यहरु नेपाल आउने क्रम बढेको हुँदा यस विधालाई थप लोकप्रिय र फराकिलो बनाउन पनि होटल संघ नेपालले आयोजना गर्न लागेको कार्यक्रमले सघाउ पुर्याउने छ ।  

 यस्ता मेला, सभा र सम्मेलन, गन्तव्य विवाह तथा प्रोत्साहन भ्रमणका कार्यक्रमलाई नेपालको पहाडी तथा तराईका गन्तव्य, प्राकृतिक ट्रेकिङ क्षेत्र र धार्मिक तथा सम्पदा स्थलहरूका विभिन्न प्याकेज बनाइ कर्पोरेट कम्पनीहरूलाई आकर्षित गर्न सक्ने सम्भावना प्रवल रहेको छ भने यसका लागि सरकारी नीति नियम, थप पूर्वाधार, जनशक्ति र प्रभावकारी प्रवद्र्धनका कार्यक्रमहरुको आवश्यकता रहेको संघले जनाएको छ ।

 कार्यक्रममा सदस्य होटलका प्रतिनिधिहरू, सम्वद्ध सरकारी अधिकारीहरु, विज्ञहरु, टुर अपरेटरहरू, पर्यटनसँग सम्बन्धित संघ संस्थाका पदाधिकारीहरु र  सञ्चारकर्मीहरुलाई आमन्त्रण गरिएको छ भने कार्यक्रमबारे संघका कार्यसमिति सदस्य तथा संघका महिला होटल उद्यमी समितिका संयोजक विधाता श्रेष्ठ तथा सदस्यहरु अमृताञ्जली शाक्य र अस्लेसा कार्कीको प्रस्तुतिकरण रहने सो कार्यक्रम नारीहरुले हर्षोल्लाषका साथ मनाउने तीज पर्वको उपलक्ष्यमा हुन लागेको पनि होटल संघ नेपालले विज्ञप्तिमार्फत जनाएको छ ।