लघु घरेलु तथा साना उद्योगहरुबाट समृद्धि र खुशी : परराष्ट्र मन्त्री

काठमाण्डौं, भदौं २५ । परराष्ट्र मन्त्री एन पि साउदले स्थानीय स्रोत र साधनको परिचालनबाट चल्ने लघु घरेलु तथा साना उद्योगहरुले मात्रै समृद्धि र खुशी ल्याउने भन्दै यस्ता उद्योगहरुको प्रर्वद्धनमा जोड दिएका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रिय महिला उद्यमी समिति, ग्लोवल इण्डिया मिशन र इण्डियन युथ च्याम्वर अफ कमर्श एण्ड इण्डस्ट्रिले राजधानीमा संयुक्त रुपमा आयोजना गरेको “नेपाल भारत अन्तराष्ट्रिय महिला उद्यमी सम्मेलन २०८०” को उद्घाटन समारोहलाई सम्बोधन गर्दै – “परिवारमा सुख समृद्धि र खुशी ल्याउने काम घरेलु र साना उद्योगले मात्र गर्न सक्ने बताएका छन् ।
उद्यमशीलताको संस्कृतिलाई महिला तथा युवा समुदायबीच संस्थागत गरी मुलुकलाई आर्थिक समृद्घ बनाउन घरेलु तथा साना उद्योगको थप विस्तार र स्तरोन्नती गर्नुपर्ने आवश्यक रहेको स्पष्ट पारेका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रिय समितिका अध्यक्ष उमेश प्रसाद सिंहले स्थानीय स्रोत र साधनको परिचालन गर्ने सवालमा होस या मुलुकभित्र रोजगारी सिर्जना गर्ने सवालमा होस घरेलु र साना उद्योगको योगदान उच्च रहेको तथ्यांकले पुष्टि गरेको बताए । छरिएर रहेको पूँजीको परिचालन र उत्पादनमूलक क्षेत्रमा लगानी बृद्धि गर्ने कार्यमा समेत यसै क्षेत्रको महत्वपूर्ण योगदान रहेको भन्दै महासंघ अन्तराष्ट्रिय उद्यम फोरममा समेत जोडिएको जानकारी दिए ।
नेपालमा उद्योग स्थापना गर्न चाहने भारतीय उद्यमीहरुलाई स्वागत गर्ने भन्दै अध्यक्ष सिँहले हामी नेपाल भारतको साँस्कृतिक सम्बन्धलाई उद्यमशीलताको क्षेत्रमा जोडन चाहन्छौं । आगामी दिनमा नेपाली उत्कृष्ट महिला उद्यमीलाई भारतको औद्योगिक गतिविधीको अध्ययन भ्रमण गराउन चाहान्छौ ।” अन्तराष्ट्रिय कोदो वर्ष २०२३ सँग सम्बन्धित कार्यक्रम भारतीय राजदुतावाससँगको सहकार्यमा गर्ने विषयमा समेत क्रियाशिल रहेको स्पष्ट पारेका छन् ।
कार्यक्रमका संयोजक एवं घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समितिका महासचिव डा. सोनी महतोले महिला उद्यमशिलताको क्षेत्रमा लगानी बृद्धि, उद्योग स्थापनामा सहजीकरण, सहज सीपमूलक तालिम, सरल व्यवसायिक कर्जा तथा उपयुक्त प्रविधिमा सर सहयोग विस्तार गर्दै महिलाहरुले सञ्चालन गरेका उत्पादनमूलक व्यवसायहरुलाई विशेष कर छुटको व्यवस्था गर्न सकिएको खण्डमा, महिलाहरु घरेलु तथा साना उद्योग व्यवसायमा आकर्षित हुने सम्भावनातर्फ राज्यले ध्यान पुर्याउन जरुरी भएको बताएकी छिन् ।