काठमाण्डौं, साउन ११ । विशेषगरी वर्खायाममा देखिने डेंगु जनवरीयता ६ महिनामा ६९ जिल्लामा फैलिएको छ । यस अवधिमा ४ हजार २ सय ८९ जनामा डेंगु संक्रमण भएको छ । जसमा ७ जनाको मृत्यु भएको छ, मृत्यु हुने सबै धरानका रहेका छन्  ।

गत वर्ष काठमाण्डौं उपत्यकामा प्रकोपको रूप लिएको संक्रमण हाल सबैभन्दा धेरै कोशी प्रदेशमा फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार यसपालि बर्खायामको शुरुवातममै डेंगु संक्रमण बढेको छ  । जनवरीयता कोसी प्रदेशमा २  हजार ७ सय ५४, वाग्मतीमा ६ सय ६७, गण्डकीमा ३ सय ४४, सुदूरपश्चिममा ३ सय १६, लुम्बिनीमा १ सय ६६, मधेसमा २२ र कर्णाली प्रदेशमा २० जनामा संक्रमण देखिएको महाशाखाको तथ्यांक छ ।

सुनसरीमा सबैभन्दा धेरै संक्रमण देखिएको छ । २  हजार ५ सय ४२ जनामा संक्रमण भएकोमा  ७ जनाको ज्यान गएको छ । सुनसरीपछि धादिङमा संक्रमण तीव्र देखिएको छ । महाशाखाको तथ्यांक अनुसार धादिङमा जनवरीयता ४ सय १ जनामा संक्रमण देखिएको हो । त्यस्तै, कास्कीमा २  सय ५ , दार्चुलामा  १  सय ९०, काठमाडौंमा ८०, संखुवासभामा ६४, म्याग्दीमा ५४, कञ्चनपुरमा ५२, रूपन्देहीमा ४५ र मोरङमा ३८ जनामा संक्रमण देखिएको छ । यी १० जिल्लामा संक्रमण उच्च छ ।

सन् २०२२ मा ५४ हजार ७  सय ८४ जनामा डेंगुको संक्रमण देखिएको थियो भने ८८ जनाको मृत्यु भएको थियो ।