काठमाण्डौं । सरकारबाट बाहिरिएको २० दिनपछि एमालेले संसद्मा प्रमुख प्रतिपक्षी दलको भूमिका सम्हालेको छ । आइतवारको संसद् बैठकमा सभामुख देवराज घिमिरेको बायाँतर्फको आसनमा सिट व्यवस्थापन भएसँगै आसनमा बसेर एमाले प्रमुख प्रतिपक्षी दलको जिम्मेवारीमा देखिएको हो । १५ फागुनमा विश्वासको मत फिर्ता लिएर एमाले सरकारबाट बाहिरिएको थियो । कांग्रेसले प्रमुख प्रतिपक्षको आसन नछाडेपछि अन्योलका कारण १७ फागुनको संसद् बैठक सूचना टाँस गरी स्थगित भएको थियो ।

प्रमुख प्रतिपक्षको भूमिका सम्हाल्दै एमालेले तत्कालका लागि सरकारलाई संसद्प्रति जिम्मेवार र जवाफदेही बनाउन दबाब र खबरदारीको प्रमुख प्रतिपक्षीय परम्परागत भूमिकालाई प्राथमिकता दिने नीति अख्तियार गर्ने भएको छ ।