काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि सोमवार दिउँसो १ बजे विश्वासको मत लिने भएका छन् । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आइतवारको बैठकमा प्रधानमन्त्री दाहालले सोमवार  १ बजे विश्वासको मत लिने कार्यसूची रहेको जानकारी गराए ।

नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारबाट समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले सोमवार विश्वासको मत लिन लागेका हुन् । पुस १० गते संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री बनेका दाहालले पुस २६ गते पहिलो पटक विश्वासको मत लिएका थिए ।

राष्ट्रपति निर्वाचनको विषयमा कांग्रेस र माओवादीबीच नयाँ सहमति बनेपछि राप्रपाले फागुन १४ र एमालेले फागुन १५ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । समर्थन फिर्ता लिएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुरुप प्रधानमन्त्री दाहालले फेरि संसद्‍बाट विश्वासको मत लिनुपर्ने भएको हो ।