काठमाडौँ । उद्योग परिसंघ (सीएनआई)ले नेपालमा लगानी विस्तार गर्न चिनियाँ लगानीकर्तालाई आग्रह गरेको छ । नेपालमा लगानीका लागि पर्याप्त सम्भावनासँगै सुरक्षा र प्रतिफलको सुनिश्चितता रहेकाले थप लगानी विस्तारका लागि नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवालले आग्रह गरेका हुन् ।

नेपाल उद्योग परिसंघ र चाइना काउन्सियल फर दी प्रमोसन इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) को संयुक्त आयोजानमा काठमाडौंमा आयोजित ‘नेपाल- चीन इन्भेस्टमेन्ट एण्ड विजनेस फोरम २०२३’ मा अध्यक्ष अग्रवालले नेपालमा जलविद्युत्, पूर्वाधार, उद्योग, पर्यटन, औषधि, सूचना प्रविधि तथा सञ्चार क्षेत्रमा ठूलो लगानी आवश्यक रहेको बताए । चिनियाँ लगानीकर्ताका लागि ती क्षेत्र राम्रो अवसर हुन सक्ने अध्यक्ष अग्रवालले उल्लेख गरे। चीनसँग राम्रो औद्योगिक प्रणाली, बलियो पुँजीगत आधार, उत्कृष्ट प्रविधि र लामो अनुभव रहेकाले नेपालमा अहिले ती पूर्वाधार र आइडिया भित्र्याउनुपर्ने आवश्यकता रहेको प्रष्ट पारेका छन् । ।

कार्यक्रममा सीसीपीआईटीका उपाध्यक्ष जङ साओगाङले पनि नेपालमा लगानी विस्तारका लागि चिनियाँ लगानीकर्तालाई आग्रह गरेका छन् । चीनसँग रहेको राम्रो औद्योगिक प्रणाली, बलियो पुँजीगत आधार, उत्कृष्ट प्रविधि र अनुभव अहिले नेपालका लागि आवश्यक रहेको उनले स्वीकार गरे । ‘म आशा गर्छु कि आउँदा दिनमा चिनियाँ लगानीकर्ताले ठूलो परिमाणमा लगानी विस्तार गर्नु हुनेछ,’ उनले भने, ‘त्यसको लाभ नेपाल र चीन दुबै देशका लगानीकर्तालाई हुनेछ ।’ यस्तै, चीन र नेपालबीच द्विपक्षीय व्यापारलाई थप प्रवर्द्धन गर्नुपर्ने, व्यापार प्रवर्द्धनका लागि नेपाल र चीनमा मेला, प्रदर्शनी लगायत कार्यक्रम हुँदै आएकाले आउँदा दिनमा तिनलाई अझ बढाउनु पर्ने साओगाङले बताए ।